भाषा विज्ञान हो, भाषाले जोड्नेसम्बन्ध र यसको सांस्कृतिक महत्त्व झन् प्रगाढ छ। भाषाको भौतिकवादी विकास र विस्तारले त झन् त्यसलाई सदैव जीवन्त बनाइराख्छ। कुनै पनि भाषा कति समृद्ध छ भन्ने कुरा त्यो भाषाको विविध आयामले प्रष्ट पार्छ। भाषालाई समृद्ध बनाउन यस विषयमा निरन्तर अध्ययन, अनुसन्धान हुनुपर्ने र विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने रहेछ। पछिल्लो समयमा कुकुर कामीको नामबाट नागरिकता जारी गरिएको विषयले नेपाली समाज तरंगित भयो। कुकुर कामीलाई कविराम कामी बनाएर त्यो भाषिक त्रुटिलाई सच्याउने काम प्रशासनले गर्यो, जुन आफैंमा स्वागतयोग्य पहल हो। कतिपय शाब्दिक अर्थले होच्याउने, कसैको मानमर्दन गर्ने विषय पनि उठेका छन्।
नेपाली बृहत् शब्दकोशमा समाविष्ट कतिपय शब्दका अर्थलाई समयसापेक्ष परिवर्तन गरेर भाषालाई समृद्ध बनाउनुपर्छ भन्ने आवाज पनि उत्तिकै उठेका छन्। ‘ग्लोबलाइजेसन’को यो समयमा कुनै पनि भाषाबाट प्रभावित भएर आयातित शब्दको रूपमा एक आपसमा एकअर्को भाषा जोडिनु नौलो कुरा होइन। तर, आफ्नै सरल र मौलिक शब्द उत्पत्ति गर्दै प्रयोग गर्न जानियो भने आयातित शब्द वा भाषामा निर्भर हुनु पर्दैन। भाषालाई समृद्ध बनाउन सरल हिसाबमा आफ्नै भाषाभित्रका शब्दका खोजी गर्नुपर्छ। नेपाली भाषाका विज्ञहरूले यसमा काम गर्न जरुरी छ। नेपालमा गणितको इतिहासको कुरा गर्दा भारतीय उपमहाद्वीपको गणित इतिहासलाई जोडेर हेर्नुपर्ने हन्छ। पूर्वीय दर्शनमा जैन, हिन्दूलगायतका धर्मको गणितिय आविष्कारमा महत्त्वपूर्ण योगदान छ।
ईशापूर्व ५०० तिर नै भारतमा अंकगणित, बिजगणित र रेखागणितको सुरुआत भएको मानिन्छ। विद्वान् दार्शनिक ब्रह्मदेवले शून्य अर्थात् ० को आविष्कार गरेको पश्चिमा समाजले पनि स्वीकार गरेको तथ्य छ। वैदिककाल (ईशापूर्व १०००) मा वेदको संख्या गणना गर्दा अंक प्रणाली र दशमलव प्रणालीको विकास भएको महत्त्वपूर्ण घटना हो। भारतमा यज्ञ वेदी बनाउँदा नाप निकाल्ने अभ्यासबाट अंकको उत्पत्ति भएको पनि विश्वास गरिन्छ। यही पद्धति आज विश्वमा प्रचलित छ। प्रारम्भमा यही प्रणाली (१।।।९) लाई अरबहरूले हिन्दी (हिंदसा) नामकरण गरे भने पश्चिमा देशले ण्, ज्ञ, द्द, घ, द्ध, छ, ट, ठ, ड, ढ लाई हिन्दू अरबिक अंक भन्न थाले।
पश्चिमी सभ्यतामा इजिप्ट र ग्रिकबाट गणितको सुरुआत भएको मानिन्छ। ग्रिक नागरिक आर्किमिडिजलाई गणितका पिता भन्ने गरिन्छ। आधुनिक गणितका जन्मदाता चै फ्रेन्च अध्येता रेन डेस्कार्ट्स (सन् १५९६–१६५०) लाई मानिन्छ। त्यसो त अठारौं शताब्दीका स्विस दार्शनिक लियनर्ड युलरलाई अंकको उच्चारण र लेखनको सन्दर्भमा गणितको राजा पनि भन्ने गरिन्छ। पाइथोगोरसले विकास गरेको थियोरममा भारतीय उपमहाद्वीप र पश्चिमी देशहरूमा विकास हुँदै गरेको गणितको झल्को पाइन्छ। अथवा यसो भनौं आधुनिक गणितको विकासमा पूर्वी र पश्चिमी दुवै सभ्यतामा अनेकौं दार्शनिक तथा विद्वान्हरूको विशिष्ट योगदान छ।
नेपालमा गणितको उत्पत्ति भएको नपाइएता पनि अंकगणितको विकास र उच्चारणमा धेरै खोज, अध्ययन र अनुसन्धान भएको पाइन्छ। पुराना कृतिहरूमध्ये गोपालदत्त पाण्डेको व्यक्तचन्द्रिका १९४० यता सयौं गणित साहित्यसँग सम्बन्धित अध्ययन र कृतिहरू प्रकाशित भएको भेटिन्छ। यद्यपि नेपाली अंकगणितको लेखन देवनागरी तथा उच्चारणमा भारतीय प्रभाव हावी देखिन्छ। देवनागरीलाई नै नेपाली भाषाले अनुसरण गरेपछि अंकगणितको लेखन र उच्चारणमा हिन्दीभाषाले हाबी हुने मौका पायो। जुन नेपाली भाषाको कमजोर पक्ष बन्यो। गणितमा नेपालीको आफ्नै मौलिकता विकास हुन सकेन। जसकारण हाम्रो उच्चारण तथा लेखन एकदमै भद्दा, बेअर्थपूर्ण र अवैज्ञानिक बन्न पुग्यो। जस्तै, अंक बीसलाई अंग्रेजीमा ट्वान्टी उच्चारण गरिन्छ। त्यसपछि क्रमशः ट्वान्टी वान, ट्वान्टी टु भनियो। ट्वान्टीमा क्रमशः वान, टु, थ्री गर्दै नाइनसम्म जोडियो। यसले पहिलोपटक सिक्ने मान्छेलाई पनि सहज रूपमा बुझ्न सहयोग गर्यो। त्यस्तै नब्बेलाई नाइन्टी भनियो, त्यसपछि नाइन्टी वन, नाइन्टी टु भनेर सजिलो बनाइयो।
यता हामीले बीसपछि मौलिकता ल्याएर एकबीस नभनेर एक्काइस भन्दियौं, एक बीस दुई बीस तीन बीस भनिएको भए, हाम्रा सिकारुले शब्दको अर्थ बुझेर सिक्ने मौका पाउने थिए। अब विद्वानहरू कसैले भनौं, एक्काइसको खास अर्थ के हुन्छ ? सिधा रूपमा भन्दा यो भाषिक हस्तक्षेप भएको विषय हो, हिन्दीमा एक्किस भनिएकोलाई हामीलाई एक्काइस भन्दियौं। यसरी नै, बाइस, तेइस, सत्ताइस, अठ्ठाइस सबैमा हामी भारतीय प्रभावलाई स्विकार्दै आइरहेका छौं। यी कुनै पनि शब्दले मौलिक अर्थ बोक्दैनन्। यस्तै नब्बे अर्थात् नाइन्टीलाई हेरौं, नाइन्टी वान, नाइन्टी टु नाइन्टीनाइनजस्ता शब्दहरू प्रयोगमा छन्। त्यसकारण, लेखन र उच्चारणमा सहज, सरल र अर्थपूर्ण लाग्छन्। यी शब्दहरू वैज्ञानिक पनि लाग्छन्। नेपालीकरण गरिएका एकानब्बे, बयानब्बे, त्रियानब्बे, चौरानब्बेको सट्टा एकनब्बे, दुईनब्बे, तीननब्बे, चारनब्बे भनिएको भए सायद साना नानीबाबुले आफ्ना अंकहरूमा अपनत्व अनुभूत गर्न पाउने थिए। सँगै तिनको शाब्दिक अर्थसमेत मिल्थ्यो, वैज्ञानिक पनि लाग्ने थिए। तिनको बीचमा अर्को एउटा अक्षर थपिदिएर भद्दा पारिएको छ।
नेपाली भाषाको उत्पत्ति संस्कृतबाट भएको मान्ने हो भने पनि अंकको शब्द लेखन र उच्चारणमा संस्कृत र अंग्रेजीमा करिब समानता छ। जुन संस्कृतसँगको समानता नेपालीमा छैन। जस्तै, बीस अंकलाई संस्कृतमा विंशति र त्यसपछि क्रमशः एकविंशति, द्वाविंशति, त्रयोविंशति हुँदै नब्बेलाई नवति, एकनवति, द्विनवति त्रिनवति, नवनवति गरेर उच्चारण गरिन्छ। कठिन मानिने संस्कृत भाषाको अंकगणितीय प्रणाली पनि बुझ्न, सम्झिन सरल सहज अर्थपूर्ण वैज्ञानिक छ। हुन त नेपाली भाषामा पनि केही सीमित शब्दहरूले लय नसमातेका होइनन्। ती सीमितै भए पनि शब्दहरू वैज्ञानिक र अर्थपूर्ण छन्, जस्तै चौबीस, छब्बीस, एकतीस, चौतीस, पैंतीस, छत्तीस, साततीस, आठतीस एकचालीस सातचालीस, आठचालीस, एकसाठी, सातसाठी, आठसाठी, एकअसी, त्रिअसी, सातअसी, आठअसी आदि।
प्रस्तुत अंकहरूको शब्दोच्चारणमा केही फरक जस्तो भए पनि सारमा सही अर्थ बोकेका छन्। अरू अधिकांश शब्दहरू बेअर्थी र जटिल लाग्छन्। झट्ट यो कुराभन्दा यिनै शब्द र उच्चारणमा अभ्यस्त भइसकेका हामीलाई अनौठो लाग्न सक्छ। अंकगणितका हाम्रा शब्दमा भने प्रष्ट रूपमा भन्न सकिन्छ, आफ्नोपन छैन, यी बेअर्थी र अवैज्ञानिक पनि छन्। जस्तै, एक्काइस, सन्ताउन्न, सतहत्तर आदि। हिन्दीमा ग्यारह बारह तेरह, चैदह, पन्द्रह, सोलह भनियो हामीले एघार बाह्र, तेह्र, चौध, पन्ध्र, सोह्र भन्दियौं। उनीहरूले इक्याउन, तिरपन भने हामीले एकाउन्न, त्रिपन्न भन्यौं। त्यसैले हामी अब यो भद्दा प्रभावबाट मुक्त हुन जरुरी छ।
यो लेखनको उद्देश्य अब भए पनि अंकगणितमा रहेको पुरानो पद्धतिलाई बदल्ने, यसलाई अर्थपूर्ण, वैज्ञानिक बनाउने, सिक्न र सम्झिन सजिलो, सरल बनाउने विषयमा छलफल बहस गर्न ढिलो नगरौं भन्ने हो। भारतीय प्रभावबाट माथि उठेर आफ्नै भरपर्दो सरल सहज अर्थपूर्ण वैज्ञानिक अंक लेखन र उच्चारण प्रणालीको विकास गरौं। त्यसका लागि अब यसरी परिमार्जन संशोधन गर्ने हो कि ? एघार, बाह्र, तेह्र, चौधजस्ता अनर्थक शब्दको सट्टा एकदस, द्विदश, त्रिदश, चौदश अनि एक्काइस, बाइस, तेइसजस्ता शब्दको सट्टा एकबीस द्विबीस त्रिबीस चौबीस गर्न सकिन्छ। एकदेखि दससम्म र बीस, तीस, चालीस, पचास, साठी, सत्तरी, असी, नब्बे, सयलाई कायम राखेर बाँकी अन्य अंक लेखन तथा उच्चारणमा पनि मौलिकताको प्रयोग गर्न सकिन्छ।
यसो गर्दा प्रारम्भिक तहदैखि नै विद्यार्थीलाई सिक्न, सम्झन तथा गणित विषयप्रतिको रुचि बढाउनसमेत मद्दत गर्छ। हामीले प्रयोग गर्ने शब्दहरू अर्थपूर्ण र वैज्ञानिक पनि हुन्छन्। विभिन्न भाषा र प्रचलनलाई हेर्दा कतै एक दस त कतै दस एक प्रयोग भएको पाइन्छ। अंग्रेजीमा ट्वान्टीवान नाइन्टीवान भनेर दस एक प्रयोग गरिएको छ। संस्कृतमा एकविसन्ति नवविसन्ति भनेर एक दसको प्रयोग गर्ने गरिएको छ। नेपालीमा एकतीस, एकचालीस, एकसाठी, एकअसीजस्ता शब्द प्रयोगको थालनी पनि भइसकेकाले एक दसकै मोडेलमा जानु उपयुक्त र व्यावहारिक हुन्छ। सम्पूर्णमा यसलाई निम्नअनुसार परिमार्जन र प्रयोग गर्न सकिन्छ। यसो गर्दा चौबीस, चौतीस, पैंतीसजस्ता केही अंक यथावत् प्रयोग हुनेछन्।
जस्तै शून्य एक द्वि त्रि चौ पै छ सात आठ नौ दस। एकदस, द्विदस, त्रिदस, चौदस, पैदस, छदस, सातदस, आठदस, नौदस बीस। एकबीस... नौबीस तीस। एकतीस द्वितीस त्रितीस चौतीस पैतीस छत्तीस साततीस आठतीस नौतीस चालीस। एकचालीस द्विचालिस त्रिचालीस...। एकसाठी, द्विसाठी त्रिसाठी चौसाठी...। एकसत्तरी... नौसत्तरी असी। एकअसी... छअसी हुँदै नब्बे। एकनब्बे... नौनब्बे सय। अन्त्यमा गणितका विषयविज्ञ तथा अध्येताहरू, प्राध्यापक वर्ग, शिक्षाविद्, प्रज्ञाप्रतिष्ठान र सम्बन्धित सबैलाई यस विषयमा बहस छलफल गरी निष्कर्षमा पुग्न हार्दिक अपिल गर्दछु।
हाम्रो सामान्य विषयहरूमा भेट गर्न र छलफल गर्नका लागि तपाईंले प्रदान गरिएको ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी सामाजिक संजालमा जडान हुन सक्छौं वा तत्काल सहायता गर्नका लागि कल गर्न सक्छौं।